त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब १५ करोड

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो यात्रुचापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गरिने बताएका छन् । २०७६ सालको नीति तथा कार्यक्रममा पनि यही विषय समेटिएको थियो ।

त्यति बेला संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक परम्परा र संस्कृति झल्किने गरी विमानस्थललाई ‘बुटिक’ अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताएकी थिइन् । २०७५ पुसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुटिक विमानस्थल बनाउने विषयमा काम थालेको थियो ।

एसियाली विकास बैंकको आर्थिक सहयोग लिई २०४५ सालमा निर्माण सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खेतबारीमा हुने गरा शैलीमा बनाइएको छ । काठमाडौं आसपासका खेतका गराबाट प्रभावित भई यसको डिजाइन दुई जर्मन र जापानी इन्जिनियरले गरेका थिए ।

अर्थमन्त्री पाैडेलले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन गरिएको बताएका छन् । बजेटमा आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाइ उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने पनि उल्लेख गरिएको छ ।

आन्तरिक हवाइयात्रालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने अर्थमन्त्री पाैडेलकाे भनाइ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भने पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन आवश्यक सुविधा उपलब्ध गराइने पनि पाैडेलले बताए ।

तपाईको प्रतिक्रिया
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyright All right reserved Greenland Multipurpose Pvt. Ltd       

       Design By:- Nakendra oli