असुरक्षित बन्दै राउटे युवती, दुर्व्यवहारमा परेको भिडियो सार्वजनिक

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको आफ्नै नियम छ । उनीहरु बाहिरको मान्छेसँग हत्तपत्त नजिक हुँदैनन् । उनीहरुको बस्तीभित्र प्रवेश गर्नका लागि पनि राउटे मुखियाको अनुमतिबिना पाइँदैन । उनीहरुको बस्तीबाहिरै लेखिएको हुन्छ- मुखियाको अनुमतिबिना प्रवेश निषेध ।

राउटे समुदाय बाहिरका मानिससँग खुल्दैन । अझ महिलाहरु त बोल्न धक मान्छन् । तर, अनेक प्रलोभनमा पर्दा पछिल्लो समय राउटे समुदायका युवती दुर्व्यवहारमा पर्न थालेका छन् । राउटे युवतीहरु दुर्व्यवहारमा परेको भिडियो केही दिनयता मात्र सामाजिक सञ्जालमा छाइरहेको छ । युट्युबर, टिकटकर र फेसबुक प्रयोगकर्ताले समुदायका युवती तथा अन्य व्यक्तिसँग फोटो खिच्ने र भिडियो बनाउने क्रम बढ्दै गएको छ । सो क्रममा राउटे युवती दुर्व्यवहारको सिकार बनिरहेका छन् ।

पछिल्लोपटक एउटा ट्रकमा चार युवतीलाई राखेर दुर्व्यवहार गरेको भिडियो फेसबुकमा सार्वजनिक भएको हो । घर्ती जगत नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो केही दिनअघि सार्वजनिक गरेका हुन् । भिडियो सार्वजनिक गर्दै उनले प्रश्न गरेका छन्, ‘समाजमा के सन्देश जान्छ ? पक्कै राम्रो होइन ।’

भिडियो कुन ठाउँ र कहिलेको हो भन्ने स्पष्ट छैन । चारजना राउटे युवतीका बीचमा बसेका एक युवाले गलत हर्कत गरिरहेको भिडियो क्लिपमा देख्न सकिन्छ । अँगालो हालेर बोलिरहेका युवाको व्यवहारले राउटे युवती असहज मानिरहेका देखिन्छन् । भिडियो भाइरल गराउने बहानामा यसरी अनावश्यक दुःख दिने र अश्लील हर्कतले राउटे युवतीहरु असुरक्षित बनेका छन् ।

यसैबीच, प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ । आठबिस नगरपालिका- ३ दैलेखका २८ वर्षीय टोपेन्द्र शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक देवीराम भण्डारीले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर अनुसन्धान भइरहेको छ । ‘गुडिरहेको ट्रकमा चार युवतीलाई राखेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएपछि खोजी थालेका थियौं,’ सुर्खेत प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले भने, ‘एक जना पक्राउ परेका छन् । अरुको खोजी हुँदै छ ।’

अहिले राउटे समुदाय बस्ती विभाजन गरेर दुई ठाउँमा बसिरहेका छन् । एउटा बस्ती सोत खोला किनार हुँदै वीरेन्द्रनगर–१४ गढी आसपास पुगेको छ । अर्को टोली वीरेन्द्रनगर–१३ करेखोला नजिकैको जंगलमा बसिरहेको छ ।

यसअघि २०७८ जेठ २१ मा पनि होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको थियो । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर नजिकै राउटे समुदायका दुई युवती सामान किन्न आएका बेला दुर्व्यवहारमा परेका थिए ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले ती युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

तपाईको प्रतिक्रिया
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyright All right reserved Greenland Multipurpose Pvt. Ltd       

       Design By:- Nakendra oli